News & Updates


 सृष्टिको पहिलो बिहानी सँगै प्राकृतिक गतिसँग तादात्म्या राख्दै अगाडि बढेको सनातन अविच्छिन्न वैदिक परम्परा बाट अनुप्राणित हिन्दु समाजको आफ्नै मौलिक आचरण, परम्परा, निष्ठा, श्रद्धा भक्ति मुटु सम्म भिजेको छ । जसको अनादित्व लाई स्वीकार्दै स्वयं परब्रह्म परमात्माले पनि प्रकृतिको साम्राज्य मा आफू स्वयं डुबुल्की मार्दै अनन्त लिला कला र सृष्टिको विस्तार गर्नुभएको छ । ईश्वरले प्रकृतिको स्वागत गर्नुभयो, उपेक्षा गर्नु भएन । शास्त्रीय मर्यादाको पालन गर्नु भयो उल्लंघन गर्नु भएन । श्रद्धावान् भक्तहरुको निष्ठालाई सम्मान गर्नुभयो, भत्काउनु भएन यही हो वैदिक सनातन धर्मको आदर्श व्यवहार । तर यी वैदिक सात्विक भावना विपरीत जति अव्य वहारिक पक्ष छन् ती सबै अधोगति का कारण हुन् । 
उध्र्वं गच्छन्ति सत्वस्थाः मध्ये तिष्ठन्ति राजसाः।
जघन्यगुण वृत्तिस्थाः अधो गच्छन्ति तामसाः ।।
(श्रीभ.गी.अ.१४ श्लो.१८)
तमोगुणले भरिएका विचारले कहिल्यै सात्विक संकल्प लिन सक्दैन सात्विक संकल्प विनाका कुनै पनि कर्म सात्विक हुन सक्दैनन् । तामसिक कार्य कहिल्यै शास्त्रीय हुन सक्दैनन् शास्त्र विपरित कर्म कहिल्यै मानवकल्याणकारी हुन सक्दैन । जो कुरा भगवान् योगेश्वर श्रीकृष्णले श्रीमद् भगवद्गीतामा यसरी प्रष्ट पार्नु भएको छ । 
यःशास्त्रविधिमुत्सृज्य वर्तते कामकारत ः ।
न स सिद्धिमवाप्नोति न सुखं न परां गतिम् ।।
यस्ता गम्भीर बिषय लाई साधारण मन मस्तिष्कले कल्पना पनि गर्न सक्दैन वास्तविकतालाई पर्गेल्न नसक्दा नै अधर्मलाई धर्म मान्न पुग्दछन् भगवान् योगेश्वर श्रीकृष्ण गीतामा भन्नु हुन्छ ।


अधर्मं धर्ममिति या मन्यते तमसावृताः ।
सर्वार्थान् विपरिताँश्च बुद्धिःसा पार्थ तामसी ।।
यस्तै शास्त्रीय ज्ञानको अपरिपक्वताको नाङ्गो चित्र सुदूरपश्चिममा गौमाताको उपेक्षा, १३ दिने क्रिया पद्धतिलाई ५ दिनमा झार्ने धृष्टता, त्यसै गरी यज्ञका नाममा श्रीमन्नारायण स्वरुप अश्वत्थ वृक्षको विनाश यस्ता शास्त्र विपरीत दुष्कर्म को समर्थनमा वैदिक सनातन धर्मनिष्ठ अमलात्मा साधु सन्त महात्मा महापुरुषहरु कहिल्यै मूक दर्शक भएर रहँदैनन् । आचार्यत्वको गरिमालाई सम्मान गर्दै भगवद् आज्ञा को परिपालनमा र शास्त्रीय मर्यादाको अनुपालन साथ साधु समाज अगाडि बढिरहेको छ । करौडौँ जनताको आस्था संग जोडिएका हिन्दुधर्मका प्रतिक विग्रह नै वैदिक सनातन धर्मका प्राण हुन् । वैदिक सनातन धर्म विपरीत गतिविधिमा धर्माचार्य हरु उभिने त के कुुरा सोच्न पनि सक्दैनन् ।
 पूर्वीय दर्शन र वैदिक वाङ्मय देखि पौराणिक साहित्य सम्म सर्वत्र भगवत्स्वरुप वटवृक्ष र अश्वत्थ वृक्षको महिमा व्यापक वर्णन भएको छ । सर्वशास्त्रमयी श्रीमद्भगवद् गीताको दश अध्यायको २६ श्लोकमा परमाराध्य श्री सर्वेश्वर योगेश्वर भगवान् श्री कृष्णले 
अश्वत्थः सर्ववृक्षाणां देवर्षिणां च नारद ः ।
भनेर स्पष्ट वृक्षहरुमा म अश्वत्थ वृक्ष हुँ भन्नुभएको छ । त्यस्तै पद्मपुराण क्रिया योगसार खण्डको अध्याय १२ को ११८।११९।१२० श्लोकमा भगवान् श्री वेदव्यास स्वयं भन्नु हुन्छ । व्यास उवाचः– 
साक्षादेव स्वयं विष्णुरश्वत्थो वृक्षसत्तम ः ।
तद्भक्ति कुर्वतां पुंसां विद्यते नाशुभं क्वचित् । 
 (प.पु.क्रि.यो. सा. ख. अ.१२ श्लो. ११८)
वृक्षहरुमा श्रेष्ठ पिपलको वृक्ष साक्षात् स्वयं विष्णु नै हुनुहुन्छ । उनै पिपलरुपी विष्णुको भक्ति गर्ने पुरुषहरुका लागि अमङ्गल कहिल्यै हँुदैन ।

अश्वत्थः सेवते यस्तु विष्णुं ध्यात्वा नरोत्तमः ।
तस्य प्रसन्नो भगवान् ददाति परमं पदम् ।।
 (प.पु.क्रि.यो. सा. ख. अ.१२ श्लो. ११९।२०
हृदयकमलमा पिपलवृक्ष लाई साक्षात् विष्णु सम्झँदै जसले सेवा गर्छ त्यो मनुष्य संग भगवान् प्रसन्न भएर उसलाई परमपद वैकुण्ठ प्रदान गर्नु हुन्छ । यस्तै गरी पद्म पुराण क्रियायोग सार खण्ड अध्याय १२ कै १०९ र ११० श्लोकमा स्वयं भगवान् श्रीकृष्ण अश्वत्थ पिपल वृक्ष आफ्नै स्वरुप भएको र पिपलको पूजा आराधना गर्नाले सम्पूर्ण अभिष्ट पूर्ण हुने कुरा बताउँदै भन्नुहुन्छ । श्रीभगवानुवाचः–
अश्वत्थरुपं मां नित्यं क्रियायोगेन सत्तम ।
समाराधय सर्वं ते साधयिष्यामि वांछितम् ।।
(प.पु.क्रि.यो. सा. ख. अ.१२ श्लो. १०९)
हे श्रेष्ठ ऋषि पिपल वृक्ष रुपी मलाई क्रिया योग द्वारा नित्य प्रति जसले राम्ररी आराधना सेवा पूजा भक्ति गर्दछ त्यसले चिताएका सम्पूर्ण कार्यहरु पूरा गरिदिन्छु ।
अश्वत्थं पश्यतो विप्रस्पृशतः परतस्तथा ।
देहस्थं पातकं सर्वं हरेत्प्रणमतो हरि ः।।
(प.पु.क्रि.यो. सा. ख. अ.१२ श्लो. ४७)
हे महर्षि जैमिनी श्रद्धा भक्ति पूर्वक पिपल वृक्षको दर्शन स्पर्श र नमन गर्ने वाला मनुष्यका शरीरमा रहेका सम्पूर्ण पापहरु भगवान् श्री हरिले स्वयं नाश गर्नुहुन्छ ।
भगवान् महर्षि कृष्ण द्वैपायन वेद व्यास हिन्दुहरुको परम पूज्य निष्ठा र श्रद्धाको वृक्ष अश्वत्थ ( पिपल वृक्ष ) को पूजा गर्नाले प्राप्त हुने पुण्यको वर्णन गर्दै पद्म पुराण क्रिया योगसार खण्ड अध्याय १२ को श्लोक ३८, ३९, ४०, ४१, ४२, ४३, ४४ मा बताउनु हुन्छ ।
बैशाखे मासि यो नित्यं विष्णुमश्वत्थरुपिणम् ।
चतुवर्ग फलप्राप्ति हेतवे वैष्णवो जनः ।।
(प.पु.क्रि.यो. सा. ख. अ.१२ श्लो. ३८)
जो मनुष्य बैशाख महिनामा अश्वत्थ पिपल स्वरुप श्री विष्णु भगवान्को नित्य सेवा गर्दछ भने त्यो सेवा नै भक्त वैष्णवहरुका लागि पुरुषार्थ चतुष्टय प्राप्तिको कारण बन्दछ । 
गण्डूष मात्रतोयेन कुर्याद्योश्वत्थसेवनम् ।
सोपि याति परं स्थानं विमुक्तः कोटि पातकैः ।।
(प.पु.क्रि.यो. सा. ख. अ.१२ श्लो. ३९)
जो मनुष्य विष्णु भगवान् स्वरुप पिपल वृक्षका जरामा एकै मुठ्ठी पानीले भए पनि सेचन गर्दछ भने त्यो मनुष्य आफ्ना करौडौ पापबाट मुक्ति भई परम पद वैकुण्ठलाई प्राप्त गर्दछ ।

अश्वत्थमूलं विप्रर्षे यो बध्नाति शिलादिभिः ।
अश्वत्थरुपीं भगवान् किं किं तस्मै न यच्छति ।। 
(प.पु.क्रि.यो. सा. ख. अ.१२ श्लो. ४०)
हे श्रेष्ठ ब्राह्मण जसले पिपलका वृक्ष वरिपरी ढुङ्गा शिला आदि वस्तु सामग्री द्वारा फलैँचा चौतारा आदि निर्माण गराउदछ भने उसलाई अश्वत्थरुपी भगवान विष्णुले के के पो दिनु हुन्न र । अर्थात् त्यो भक्तको सम्पूर्ण इच्छा आकांक्षा पूरा गरिदिनु हुन्छ ।
अश्वत्थ द्रुममालोक्य प्रणामं कुरुते यदि ।
सोपि याति परं स्थानमायुर्वृद्धि न संशय ।।
 (प.पु.क्रि.यो. सा. ख. अ.१२ श्लो. ४१)
भगवान श्री विष्णु स्वरुप पवित्र पिपल वृक्षलाई देखेर यदि नमन गर्दछ भने त्यो मनुष्य पनि यस लोकमा दीर्घायु भई अन्त्यमा दिव्य वैकुण्ठ धाम प्राप्त गर्दछ ।
यदश्वत्थतले विप्र धर्म कर्म करोति यः ।
न्यूनातिरित्तता न स्यात्तस्मिन्कर्मणि जैमिने ।।
(प.पु.क्रि.यो. सा. ख. अ.१२ श्लो. ४२)
भगवान् वेदव्यास महर्षि जैमिनी लाई भन्नुहुन्छ हे जैमिनी जो मनुष्यले विष्णु स्वरुप पिपल वृक्षका फेदमा बसेर धर्म कर्म आदि गर्दछन् । त्यस कर्ममा त्रुटि नै भए पनि त्रुटिहरु रहँदैनन् ।
तत्र तीर्थानी सर्वाणी त्रिस्रोतादिनी जैमिने ।
यत्राश्वत्थ तरुस्तिष्ठेदेकोपि शाखिनां वरः ।।
(प.पु.क्रि.यो. सा. ख. अ.१२ श्लो. ४३)
तीनै लोकका सम्पूर्ण तीर्थहरु गंगा यमुना सरस्वती सहित सम्पूर्ण श्रेष्ठ नदीहरु सरोवरहरु तालतलैया कुण्ड एवं सम्पूर्ण देवक्षेत्रहरु सबै को वास त्यहाँ हुन्छ जहाँ अनेकाँै शाखा ( हाँगा पातहरुले ) युक्त एउटै भए पनि पिपल वृक्ष रहन्छ । 
अश्वत्थं पुजयेद् यस्तु स एव विष्णुपूजकः ।
अश्वत्थमूर्तिर्भगवान् स्वयमेव यतोद्धिजः ।।
 (प.पु.क्रि.यो. सा. ख. अ.१२ श्लो. ४४)
जसले वृक्ष श्रेष्ठ पिपलको पूजा सेवा (संरक्षण संवर्धन) गर्दछ । त्यो नै परमपिता परमेश्वर भगवान् विष्णुको पूजक (सेवक) हो । हे ब्राह्मण किनभने पिपलका रुपमा रहनु भएका स्वयं भगवान श्री विष्णु नै हुनुहुन्छ । यसरी अनेक प्रमाणद्वारा भगवान् श्रीमन्नारायण वैकुण्ठनाथ विष्णुकै प्रत्यक्ष विग्रह स्वरुप पिपल वृक्षलाई वैदिक सनातन धर्मका अनुयायी तपाई हामीले भुलेर पनि अनादर चिरफार काट्ने छिमल्ने जस्तो अधार्मिक कार्य कहिल्यै भुलेर पनि गर्नु हुदँैन । पिपल वृक्षरुपी साक्षात् श्रीमन्नारायणलाई कुनै शस्त्र अस्त्र द्वारा काट्ने छिमल्ने आदि कार्य गर्ने वेदधर्म विरोधी मनुष्य हरुका लागि अगाडि भगवान् वेदव्यास महर्षि जैमिनी सम्झाउँदै भन्नुहुन्छ ।
अवज्ञानाद् द्विज श्रेष्ठ योश्वत्थं हन्ति मूढधीः ।
संसारे नास्ति तत्कर्म यत्कृत्वा स च शुद्ध्यति ।।
(प.पु.क्रि.यो. सा. ख. अ.१२ श्लो. ४५)
हे ऋषि श्रेष्ठ जैमिनी जो मूर्ख मनुष्य अज्ञानवश पिपलवृक्षलाई काट्दछ । त्यस्ता पिपल वृक्षलाई काट्ने महापापी व्यक्तिको पापको प्रायश्चित्त संसारमा कुनै कर्म बाट पनि हुन सक्दैन । 
अश्वत्थोवृक्षराजोयं हरिमूर्ति ः प्रकीर्तितः ।
तस्मादश्वत्थ हन्तृणां त्राता कोपि न विद्यते ।।
(प.पु.क्रि.यो. सा. ख. अ.१२ श्लो. ४६)
श्रुति स्मृतिहरुमा वृक्षहरुको राजा भनेर बताएको यो पिपल वृक्षलाई सबैको आँखा ले देख्न सकिने श्री हरिको साक्षात्मूर्ति (स्वरुप) बताएको छ । त्यस कारण श्रीमन्नारायण स्वरुप पिपल वृक्षलाई काट्ने मार्ने नास गर्ने नाश गराउने महापापी मनुष्यको रक्षा गर्न सक्ने यस त्रिलोक चौध भुवनमा कोही पनि छैन । 
विलोक्याश्वत्थ हन्तारं यः शक्तो न निवारयेत् ।
तन्नेत्र युग्मं बडिशैर्यमनोत्पाट्य ते स्वयम् ।। 
(प.पु.क्रि.यो. सा. ख. अ.१२ श्लो. ४८)
जो मनुष्य पिपल वृक्षलाई काट्दै गरेको देख्दा देख्दै पनि रोक्दैन त्यस्ता मनुष्यका दुवै आँखा लाई स्वय यमराज ंले बल्छी जस्ता तीखा धारीला शस्त्रले उखाल्दिनु हुन्छ । 
अश्वत्थच्छेदनं मूढो माकुर्वीतिवदेन्नयः
तस्य जिह्वां छुरिकया स्वयं कृन्तति प्रेतराट् ।।
(प.पु.क्रि.यो. सा. ख. अ.१२ श्लो. ४९)
जो मूर्ख मनुष्य पिपल वृक्षलाई काट्दै गरेको देखेर नकाट नगर सम्म पनि भन्दैन भने त्यस्ता मूर्खको जिब्रा लाई तानेर प्रेतहरुका स्वामी स्वयं यमराजले नै जिब्रो काटिदिनुहुन्छ । 
अश्वत्थशाखामेकां यः स्वल्पामपि निहन्ति वै ।
स कोटि ब्रह्महत्यानां फलमाप्नोति मानवः ।।
(प.पु.क्रि.यो. सा. ख. अ.१२ श्लो. ५०)
जो मनुष्य पिपलको सानो एउटा हाँगा मात्रलाई पनि काट्दछ भने त्यस मनुष्यले करोडौं ब्रह्महत्या गरे समान महापातक रुपी फल लाई प्राप्त गर्दछ । त्यसै गरी अगाडि पद्म पुराण क्रिया योगसार खण्ड अध्याय १२ कै ५१,५२,५३,५४ श्लोकमा पिपल वृक्षलाई काट्ने कटाउने र काट्न आदेश दिने मनुष्य हरुलाई के के पाप लाग्छ भन्दा महर्षि वेदव्यास श्री जैमिनी ऋषिलाई प्रष्ट्याउदै भन्नुहुन्छ ।
यत्पापं ब्रह्महत्यायां गुरुस्त्रीगमने न च ।
सुरापाने तथा स्तेयेन्यासापहरणेऽपि च ।।
यत्पापं भ्रूणहत्यायां गोहत्यायां द्विजोत्तम ।
स्त्रीहत्यायां च यत्पापं परस्त्रीगमने तथा ।।
शरणागत हत्यायां हत्यायां सुहृदस्तथा ।
विश्वासवाक्याकथने पतिहिंसाविधौ च यत् ।।
यत्पापं परनिन्दायां हरिवासर भोजने ।
अश्वत्थच्छेदनाद् घोरं तत्पापं प्राप्यते जनै ः ।।
 (प.पु.क्रि.यो. सा. ख. अ.१२ श्लो. ५१,५२,५३,५४)
 जुन पाप ब्रह्महत्या गर्दा लाग्छ । जुन पाप गुरु पत्नीमा गमन गर्दा लाग्छ । जुन पाप मदिरा पान गर्दा लाग्छ । त्यस्तै जुन पाप चोरी गर्दा लाग्दछ जुन पाप धरोहर ( राख्न दिएको समान ) नफर्काउदा लाग्दछ । जुन पाप गर्भ पतन गर्दा गराउँदा लाग्दछ जुन पाप गाईको हत्या गर्दा लाग्दछ जुन पाप स्त्री हत्या गर्दा लाग्दछ जुन पाप परस्त्री गमन गर्दा लाग्दछ जुन पाप शरणागत वैष्णव भक्तको रक्षा नगर्दा लाग्दछ जुन पाप हितैषी को हत्या गर्दा लाग्दछ जुन पाप विश्वासघात गर्दा लाग्दछ जुन पाप पति को हत्या गर्दा लाग्दछ जुन पाप अर्काको निन्दा गर्दा लाग्दछ जुन पाप एकादशी व्रतका दिन अन्न भोजन गर्दा लाग्दछ ती सम्पूर्ण पापहरु नारायणस्वरुप पिपलवृक्ष काट्ने कटाउने र काट्न समर्थन गर्ने लाई लाग्दछ ।
विष्णुर्मूर्तिर्जनो मोहादश्वत्थस्यनिहन्ति यः ।
तत्तुल्यः पातकी कोपि न श्रुतः क्षिति मण्डले ।।
(प.पु.क्रि.यो. सा. ख. अ.१२ श्लो. ५५)
जो अज्ञानी मूढ मनुष्य भगवान्नारायणकी मायामा मोहित भएर किं कत्र्तव्य विमूढ हुँदै साक्षात् नारायण स्वरुप पिपल वृक्षलाई काट्दछ मार्दछ त्यो समान महापापी यो भूमण्डलमा आज सम्म कोही पनि सुनिएको छैन । 
यसरी सकल श्रुति स्मृति वेद पुराण महाभारत रामायण आदि सबै धर्म ग्रन्थमा बटवृक्ष र अश्वत्थ वृक्षको अनन्त महिमा गाइएको छ । साथै पिपल वृक्षको छेदन गर्दा लाग्ने महापाप र त्यसको फल स्वरुप नारकीय यातनाको कठोर वर्णन अन्य तमाम धर्मग्रन्थहरुमा व्यापक रुपमा पाइन्छ । यहाँ ज्यादा विस्तार हुने भयले लेखिएन यदि कसैले शास्त्र पढेको छु म धर्मज्ञ हूँ म धर्म जान्दछु म ठूलो हूँ म महान हूँ भन्छ भने यहाँ भन्दा धेरै लेख्नु नपर्ला यदि शास्त्रीय ज्ञान पटक्कै नभएका बाहिरी आडम्वर देखावा र संसारी बजारको लहैलहैमा बगेका हरुका लागि मेरो भन्नु नै के छ र । यो महत्वपूर्ण विषय भक्तहरुको जिज्ञासा लाई यथार्थ बोध गराउनका लागि लेखिएको हो । अन्य जिज्ञासा भए शास्त्रीय प्रमाणका आधारमा विषय विस्तार गरौंला । जय श्री राधे ।। 
अनन्त श्री विभूषित जगद्गुरु 
बालसन्त मोहन शरण देवाचार्य महाराज (प्रथम जगद्गुरुपीठ) प्राचीन हरिद्वार चतराधाम, सुनसरी