News & Updates

                                                                                                                                             प्रो.डा. हरिप्रसाद अधिकारी 
                                                                                                                                                                वरिष्ठ उपाध्यक्ष,काशी पण्डित सभा 
                                       

      भारत बर्षको प्रयागराज, हरिद्वार, नासिक एवं उज्जैनमा क्रमशः आयोजित हुने कुम्भ–मेला सँग हामी सुपरिचित छौं । कुम्भमेलाको समायोजन पौराणिक समुद्रमन्थनसँग सम्वद्ध भएपनि त्यसको वर्तमान स्वरुप आद्यशंकराचार्यद्वारा निर्धारित गरिएको हो भन्ने मान्यता भारतमा पनि छ । कुम्भको सन्दर्भमा प्राप्त पौराणिक पद्यहरूले मार्ग प्रदर्शन गरेका छन् । नेपालको सन्दर्भमा चर्चा गर्दा यो स्मरणीय छ कि यो देश हिमवत्खण्ड अन्तर्गत पर्ने हुनाले तथा भगवन् पशुपतिनाथ लगायत अनेक तीर्थहरूले युक्त हुनाले, पुराणहरूमा उल्लिखित कौशिकी, गण्डकी ,बाग्मती, कर्णाली आदि पवित्र नदीहरूको उद्गमस्थल भएकोले, राजा जनक, सीता, व्यास, विश्वमित्र, पुलस्त्य, पुलह आदिको हुनाले, गौतम बुद्धको प्राकट्यस्थली, आद्यशंकराचार्यको साधनास्थल भएको हुनाले पनि नेपाल भूमिको उत्कृष्ट पौराणिक महत्व रहेकोमा कसैलाई सन्देहको आवकाश छैन । विश्वको सर्वौच्च शिखर सगरमाथा हिमालय, भगवन् शङ्करको निवासस्थान मानसरोवर आदि अगणित विशेषताहरूले युक्त भएर पनि नेपाल भूमि धार्मिक, पौराणिक आदि क्षेत्रमा पछि पर्न गएको तथ्य आश्चर्यजनक छ । देवघाटधामको सन्दर्भमा धेरै पहिला यो पद्य सामुपरेको थियो –

त्रैलोक्ये यानि तीर्थानि यानि तीर्थानि भारते ।
आत्मनः शुद्धिमिच्छन्ति यदा गच्छन्ति पर्वसु ।।

          नेपालको यस विश्वप्रसिद्ध महत्वलाई प्रकाशित गर्न योगी नरहरिनाथ, स्वर्गद्वारीमहाप्रभु, षडानन्द अधिकारी, गलेश्वर बाबा आदिले पनि अतुलनीय प्रयत्न गर्नुभएको थियो । वर्तमानमा जगद्गुरु मोहनशरणदेवाचार्य महाराजले कुम्भ आयोजनको माध्यमले नेपालको गौरवलाई पुनः विश्वमा पु¥याउनु भएको छ । सम्वत् २०५४ देखि वृन्दावनबाट नेपाल फर्किएपछि वहाँले एकक्षण पनि विश्राम लिनुभएको छैन । वहाँले नेपालराष्ट्रको दुईपटक पूर्ण परिक्रमा गरि सक्नु भएकोे छ । भ्रमणको क्रममा वहाँले नेपालमा रहेका गुप्त तीर्थहरूको प्राचीनतम शिवमन्दिरहरूको, पौराणिककथाहरूमा उल्लिखित स्थानका देवीदेवता एवं पवित्रनदीहरूको खोज गरी तिनको महत्व नेपाली जनता समक्ष उपस्थापित गर्नुभएको छ । स्कदपुराण अन्तर्गत भएका मानसखण्ड एवं हिमवत्खण्डको अन्वेशण गरी त्यसमा वर्णित नेपाल महात्म्यलाई पत्रपत्रिका एवं व्याख्यानको माध्यमबाट नेपाली जनतामाझ पु¥याउनु भएको छ । 

         अठारै महापुराण एवं उपपुराणहरूको विद्वानहरूद्वारा अनुशीलन गराएर जहाँ जहाँ नेपालको तथा नेपालको तीर्थहरूको वर्णन छ त्यसलाई लिपिबद्ध गराएर महाराजजीले महान् कार्य गर्नु भएको छ । विपरीत परिस्थितिमा पनि वराहक्षेत्रस्थित चतराधाममा सफलतापूर्वक तीन कुम्भमेलाको आयोजना भइसकेको छ । विगत कुंम्भमा लगभग डेढकरोड जति नेपाली जनता उपस्थित भए । राष्ट्राध्यक्षदेखि लिएर प्रायः सबै सरकारी निकायका महत्वपूर्ण व्यक्तिहरूको विगत कुम्भमा उपस्थिति थियो । भारतबाट पनि विश्व हिन्दु परिषद्का अन्तर्राष्ट्रीय अध्यक्षमा. अशोक सिंहल, काशी सुमेरुपीठका जगद्गुरु शंकराचार्य नरेन्द्रानन्द सरस्वती आदि आदि हज्जारौं भारतीय सन्तहरूको आगमन भएको थियो । वाराणसीबाट काशी पण्डित सभाका महामन्त्री डा. विनोदराव पाठक ज्यूको नेतृत्वमा २१ विद्वान्हरूको टोली कुम्भमा उपस्थित भई कुम्भ प्रति समर्थन जनाएको थियो । त्यस कुम्भमहामेलामा दुई पटक पुग्ने अवसर प्राप्त भएकोले म स्वयं समस्त गतिविधिहरूको द्रष्टा पनि हुन पुगेको थिएँ । निष्कर्षरुपमा यो स्पष्ट सँग भन्न सकिन्छ कि टाढा–टाढा तीर्थ यात्रागर्नमा असमर्थ नेपालीजनताले आफ्नै माटोमा यसप्रकारको महान् सङ्गमको दर्शन गर्ने अवसर पाए । कुम्भमेलामा अनवरत भजन–कीर्तन, पूजापाठ, भण्डारा, कथा–प्रवचन,व्याख्यान तत्वचिन्तनका कार्यव्रmमहरू देखापरेको थियो । 

         आजको तिथिमा कसले जगद्गुरुको उपाधि कसरी पाए ? नेपालमा कुम्भमेलाको के प्रमाण छ ? नेपालमा पनि वराहक्षेत्र स्थित चतराधामकै चयन किन गरियो? नेपालमा कुम्भको आयोजन गर्दा भारतका साधुसन्तहरू रिसाउँछन ? इत्यादि प्रश्नहरू उत्तरित भईसकेका छन् । नेपालमा कुम्भका सन्दर्भमा पनि धेरै पुस्तकहरू प्रकाशित भइसकेका छन् ।सबै भन्दा ठूलो कुरा नेपाली जनताले कुम्भमेलाको हृदयदेखि नै स्वागत गरिसकेका छन् ।अत. आज कुम्भ प्रारम्भ भएको १५ २० वर्ष पछि र बालसन्तजी जगद्गुरु को उपाधिले विभूषित भइसकेको १०वर्ष पछि कुनै तथाकथित विद्वान अथवा धर्माचार्यले यस विरुद्घ आपत्ति उठाउँछ भने त्यो उसको आत्मघाती कदम हो । साच्चै भन्ने हो भने नेपालराष्ट्रको गौरवोत्थानको लागि जति प्रयत्न जगद्गुरु बालसन्तमोहनशरणज्यूले गर्नुभएको छ ,त्यसको १० औं अंशको एक अंश पनि गर्ने दुर्लभ छन् । विगत तीन वर्ष पहिला पनि महाकालीमा नेपाल आमाको विशाल मूर्ति निर्माण गर्ने पश्चात् नेपालका प्रत्येक कुनाको भ्रमण गरी मूर्तिनिर्माणस्थलको शिलान्यास पनि गरिसकेको छ ।नेपालमा अनादिकाल देखि उपेक्षित सुदुरपश्चिमांचलको पनि स्वामिजीले पैदल भ्रमण गरी सक्नु भएको छ ,साथै भ्रमणका अवसरमा भेटिएका दिव्य देवालयहरूको विवरण पनि नेपाली जनता समक्ष ल्याइएको छ । हुन त नेपाल राष्ट्रमा अरु पनि धेरै सन्तहरू हुनुहुन्छ तर वहाँहरू आफ्नै आश्रम तथा गुरुकुल चलाउनमा मात्र संलग्न देखिनु हुन्छ । सम्पूर्ण राष्ट्रको चिन्तन वाचिकरुपमा मात्र न गरेर राष्ट्रकै लागि आफ्नो शरीर सम्म पनि सौपन तयार जगद्गुरु बालसन्त स्वामी एक असाधारण व्यक्ति हुनुहुन्छ । स्व. प्रधानमन्त्री श्री नगेन्द्रप्रसाद रिजालज्यूको चतराधाममा कुम्भ लगाउने अभिलाषा जगद्गुरु बालसन्तजीले अदम्य सहास अटुट धैर्य नदेखाउनु भएको भए अधुरै रहने थियो । स्वामीज्यूमा निम्न कथन पूर्णरुपले घटित हुन्छ ।

निन्दा धेरै गरुन् वा जगतभरमा नाम ठूलो फिजाउन्
श्रीसम्पत्ति भरियोस् घरभरि अथवा स्वात्त निथ्रेर जाओस् ।
ऐले मर्नुपरोस् वा युग पछि मरियोस् भूमि फूटोस् पटक्क ।
थालको काम पूरा नगरिकन यसै वीर बस्तैन ढुक्क ।।


वहाँले जहिले देखि वराहक्षेत्रको उद्धार र नेपाल र नेपालीको स्वाभिमान जगाउने कार्य गर्नुभयो, तहिले देखि नै खुट्टा तान्ने व्यक्तिहरूपनि जम्मा हुन थाले । कसैले सामाजिक रुपमा, कसैले साम्प्रदायिक रुपमा, कसैले धार्मिक रुपमा, कसैले जातिगत रुपमा अनेक प्रकारका आरोप प्रत्यारोपहरू लगाए तर जगद्गुरुज्यू माथि त्यसको प्रभाव नगण्य रह्यो । कतिपय भस्मासुर प्रकृतिका व्यक्तिहरूले पनि स्वामीज्यूको अभियानलाई रोक्ने प्रयत्न गरे र गर्दैछन् पनि । यसमा पनि जगद्गुरुज्यू अवश्य विजयी हुनु हुनेछ ।
                         श्रीमद्भगवद्गीतामा भनिएको छ –‘शुभ गर्ने कुनै व्यक्ति पार्थ पाउन्न दुर्गति’ । श्रीरामज्यूले लक्ष्मणलाई आज्ञा गर्नु भएको छ –‘सहु तिमी बडो हुन्छ सहन्या’ ।उपर्युक्त संक्षिप्त विवेचनको आधारमा यो स्पष्ट सँग भन्न सकिन्छ कि नेपालमा आयोजना गरिने कुम्भ शास्त्रसम्मत हो, यसबाट धार्मिक लाभ मात्र नभई नेपाली जनताले अनन्त लाभ पाउन सक्छन् । आशा छ समस्त नेपाली जनताले यसलाई श्रद्धासंग अपनाउनु हुनेछ । यसका साथै काशीका सवै विद्वानहरूको तर्फबाट यस कुुम्भमेलाको सफलताको लागि शुभकामना छ ।