निम्बार्क सम्प्रदायको गुरू परम्परा

निम्बार्क सम्प्रदायको गुरू परम्परा

        निम्बार्क वैक्णवसम्प्रदाय अनादि वैदिक सत्सम्प्रदायका रूपमा अनादिकालदेखि चलिआएको सम्प्रदाय हो । यो सम्प्रदाय वैदिक श्रुति स्मृतिपुराण इतिहासमा सुवर्णित सर्वदर्शनहरूप्रति सम्मान गर्दै विशुद्ध वासुदेव श्रीकृष्णमाथिको वर्णन र उपासना गर्दै अगाडि बढेको भक्तिमार्ग पनि हो । यस सम्प्रदायको प्रारम्भ भगवान् हंसनारायणबाट शुरु भएर ब्रह्माजीका मानसपुत्र सनकादि, देवर्षिवर्य नारदका साथै उहाँका अनन्य प्रिय शिष्य अरुण–जयन्तीनन्दन भगवान् सुदर्शन चक्रावतार आद्यजगद्गुरु श्रीनिम्बार्काचार्य समेत भएर यस सम्प्रदायको विस्तार शुरु हुन्छ । 

        भगवान् श्रीनिम्बार्काचार्यलाई देवर्षिवर्य नारदमुनि दैनिक शास्त्रमा मर्यादानुसार गोपाल पूर्वतापिन्युपनिसमा वर्णन भएको पञ्चपदी गोपालमन्त्रको पञ्च–संस्कारपूर्वक दीक्षा दिनुहुन्छ । त्यसपछि परमविरक्त देवर्षिवर्य नारदमुनि आफूजस्तै शिष्य पाएकाले आफूले सम्हालेर ल्याएको यस वैष्णव धर्मको व्यापक प्रचार गर्ने आज्ञा र आशीर्वाद दिँदै अगाडि यो भागवत सम्प्रदायलाई विस्तारगर्ने आदेश साथै वेदान्त ब्रह्मसूत्रको यथार्थ भाष्य समेत गर्ने आज्ञा दिएर देवर्षिवर्य प्रस्थान गर्नुहुन्छ । त्यसपछि आद्यजगद्गुरु श्रीनिम्बार्काचार्य गुरुआज्ञानुसार गोबर्धन पर्वतका फेदिमा बसेर अनेक विधर्मीहरूका बीचमा पनि निर्विवाद र निःशङ्कोच भगवद्भक्तिको प्रचार गरी बैष्णव धर्मको वैजयन्ती फहराउनुहुन्छ । साथै श्रीराधाकृष्ण युगलोपासनाद्वारा ब्रह्मको यथार्थ उपासनाको प्रतिपादन र वेदान्त ब्रह्मसूत्रको वेदान्त पारिजात सौरभ’ नामक वेदान्तभाष्य, वेदान्तकामधेनु आदि अनेक दार्शनिक ग्रन्थसमेत लेखेर दार्शनिक जगत्मा अद्वितीय स्थानसमेत स्थापित गर्न पुग्नुभएको छ जगद्गुरु श्रीनिम्बार्काचार्य । 
         त्यसपछि उहाँको बल तपस्या योगसाधना एवं दिगन्त भगवद्भक्तिको प्रचार भएको देखेर शंखावतार दिग्गज विद्वान् जगद्विजयी पण्डितराज विद्यानिधिजस्ता मूर्धन्य विद्वान् सरस्वतीका वरदपुत्र समेत जगद्गुरुका श्रीचरणमा आई दीक्षा ग्रहण गर्न पुग्नुभयो । पछि जगद्गुरु श्रीनिम्बार्काचार्यले विद्यानिधि पण्डितलाई शिष्य बनाएर वैष्णव दीक्षा दिई श्रीनिवासाचार्य नाम राखिदिनुभयो। यिनै श्रीनिवासाचार्य निम्बार्काचार्यका उत्तराधिकारी धर्मप्रचारकका रूपमा प्रतिष्ठित हुनुभयो। उहाँले पुनः आफ्ना गुरुदेवले लेखेको ‘वेदान्तपारिजातसौरभ’ माथि वेदान्तकौस्तुभप्रभा नामको वृहद्भाष्यग्रन्थ को समेत रचना गर्नुभयो ।निम्बार्काचार्यका श्रीनिवासाचार्यबाहेक अरु पनि दिग्गज शिक्यहरू हुनुभयो । जस्तैः औदुम्बराचार्य र गौरमुखाचार्य । उहाँहरूले पनि पछि औदुम्बरसंहिता र निम्बार्क–सहस्रनाम, निम्बार्र्किवक्रान्ति आदि सम्प्रदायका प्रामाणिक ग्रन्थहरूको निर्माण गर्नुभयो ।परन्तु विशेष उत्तराधिकारीका रूपमा चाहिँ श्रीनिवासाचार्य महाराजलाई नै देख्न पाइन्छ ।
          त्यसपछि उहाँकै शिष्य परम्परामा विश्वाचार्य आदि द्वादशाचार्य र श्रीदेवाचार्य–देखि जगद्विजयी केशवकाश्मिरी भट्टाचार्य युगलशतक ग्रन्थका रचङता श्रीभट्टाचार्य र रसिकराजराजेश्वर रसिक–शिरोमणि श्रीहरिव्यासदेवाचार्यसम्म अष्टादश भट्टाचार्यहरू विश्वविख्यात वैष्णवाचार्यका रूपमा देख्न पाइन्छ ।यसरी यहाँसम्म प्रायः गरी एकै शृङ्खलाको सम्प्रदायको अविरल धारा बगिरहेको पाइन्छ तर, त्यसपछि श्रीहरिव्यासदेवाचार्य महाराजको सर्वत्र ख्यातिप्राप्त भएको हुँदा उहाँका श्रीचरणको आश्रय लिन अनेक विद्वान् धर्माचार्य, शास्त्रार्थमहारथी, तत्वदर्शी, ज्ञानी,विरक्त, त्यागी, सन्त, साधक, सद्गृहस्थ लगायत अनगिन्ति मानवजगत्हरू उहाँको शिष्वत्व ग्रहण गर्न पुगेका थिए । ती अनगिन्ती वैष्णव शिष्यहरूमा प्रधान विरक्त द्वादश शिष्य भएको उल्लेख सर्वज्ञ साम्प्रदायिक ग्रन्थहरूमा वर्णन भएको पाइन्छ । ती द्वादश प्रधान शिष्यहरूमा सर्वप्रथम हुनुहुन्छ ः–
१. श्रीमद्स्वभूरामदेवाचार्य ।
२. श्रीवोहितदेवाचार्य
३. श्रीमदनगोपालदेवाचार्य
४. श्रीउद्धवघमण्डदेवाचार्य
५. श्रीबाहुबलदेवाचार्य
६. श्रीपरशुरामदेवाचार्य
७. श्रीगोपालदेवाचार्य
८. श्रीहृकीकेशदेवाचार्य
९. श्रीमाधवदेवाचार्य
१०. श्रीकेशवदेवाचार्य
११. श्रीलफरागोपालदेवाचार्य
१२. श्रीमुकुन्ददेवाचार्य
श्रीमद्स्वभूरामदेवाचार्य ज्यू पछि वहाँका शिष्य श्री कन्हर देवार्चाय हुदै जगद्गुरु बालसन्त महाराज यसै परम्परामा ५८औँ पुस्ताका अनन्तश्री विभूषित परशुराम शरण देवार्चाय महाराज श्रीका कृपा पात्र हुनुहुन्छ । (edited)