कुम्भमेलाको परिचय र प्रमाण

कुम्भमेलाको परिचय 

         नेपालको सन्दर्भमा कुम्भमेला र जगद्गुरु महाराजश्रीको सम्वन्ध अन्योन्यास्रित रहेको छ । किनकि नेपालमा कुम्भमेलाको खोज अनुसन्धान गरी शास्त्रीय आधारमा कुम्भको शुरुवात गर्नुभएको छ । 

कुम्भ मेला के हो ?

            कुम्भ मेलालाई हिन्दु धर्मावलम्बीहरूको एक महान स्नान पर्वको रुपमा लिइन्छ। यो मेला पृथ्वीमा जम्मा ५ ठाउँमा लाग्ने गरेको छ । शास्त्रले इङ्कित गरेका जम्मा १२ वटा कुम्भस्थल भए पनि हाल खोज भैसकेका जम्मा ५ कुम्भ मेलाहरू मध्ये ४ कुम्भस्थलहरू भारतका हरिद्वार ,प्रयाग ,नाशिक र उज्ज्यैन हुन् जहाँ प्रत्येक १२÷१२ बर्षमा कुम्भ मेला लाग्ने गरेको छ र बाँकी १ कुम्भस्थल नेपाल को सुनसरी जिल्ला स्थित कोशी नदीको किनार प्राचिन हरिद्वार चतारधाममा हो भन्ने कुरा शास्त्रहरूले मुक्तकण्ठले प्रस्तुत गरेका छन् । 

नेपालमा हुने कुम्भ मेलाका शास्त्रीय प्रमाण 

   समुन्द्र मन्थन पछि उत्पन्न अमृतमय कुम्भघडा आफ्नो बनाउन देवता र दैत्यका वीच भएको लुछातानीको क्रममा जहाँ–जहाँ अमृत 
खस्यो, त्यहाँ–त्यहाँ कुम्भपर्व शुरु भएकोे बताइएको छ । जस्तै

विष्णुद्वारे तीर्थराजेऽवन्त्यां गोदावरीतटे ।
सुधाविन्दु विनिक्षेपात् कुम्भपर्वेति विश्रुतम् ।।१८।

     विष्णुद्वार भारतको हरिद्वार, तीर्थराज प्रयाग, अवन्तिकापुरी साथै गोदावरीतट गरी चार स्थानमा अमृतका विन्दुहरू झरेका हुँदा यी  चार स्थानमा पहिलादेखि नै कुम्भस्थल भनेर विख्यात भएको देखिन्छ ।

           तर नेपालको प्राचीन हरिद्वार चतराधाममा लाग्ने कुम्भ मेलाको सन्दर्भमा श्रीमद्स्कन्द महापुराणको हिमाद्रि खण्ड अध्याय १२ श्लोक संख्या ३४ देखि ३८ सम्म स्पष्टसंग बताइएको छ ।
         जब भगवान् विष्णु मोहिनीरूप धारण गरेर देवताहरूलाई अमृत बाँड्न लाग्नुभएको थियो , कुम्भ घडाको अमृतमा ढपक्क छाली (तर) लागेको थियो । त्यस अमृतको सुन्दरतालाई देखेर मोहिनीरूप भगवानले विचार गर्नुभयो कि यस अमृतको सार त देवतालाई दिनु हुँदैन । यसलाई अलग्गै राखेर अमृतमात्र बाँड्नु पर्छ । त्यस अमृतलाई उनै भगवान् मोहिनीरूप विष्णुले कपडाले छानेर अमृतको तरलाई बाहिर निकालेर एउटा पवित्र स्थानमा राखी ती देवताहरूलाई अमृतपान गराउनु भयो ।

 

तदा तदमृतं देवस् कृत्वा वस्त्रेण गालितम् ।
पिष्टिं निष्कास्य निक्षिप्य पाययामास तान् सुरान् ।।३५।।
ततस्तु तां सुधापिष्टिं गृहीत्वा त्रिदशास्तथा ।
पिण्डिकृत्य प्रहृष्टास्ते लिंगं चक्रुरनुत्तमम् ।।३६।।
तल्लिंगं स्थापयामासुस्तस्मिन् रुद्राक्षकानने ।
स्थापयित्वा ततो लिंगं पूजयामासुरादरात् ।।३७।।
नाम चक्रे ततस्तस्य पिण्डेश्वर इति प्रभो ।
सुधापिण्डीकृतो यस्मात् पिण्डेश्वर इति स्मृत ः ।।३८।।

 

         यसरी पहिला नै निकालेर राखेको अमृतको तरलाई पिण्डरूप शिवलिंग बनाएर एक महिना सम्म कौशिकीमा कुम्भस्नान गर्दै पूजा अर्चना गरी अन्त्यमा त्यस अमृतको सारबाट निर्मित शिव– लिंगलाई सबै वनहरू भन्दा सर्वोत्तम वन रुद्राक्षारण्यका मध्यभागमा लगेर स्थापना गरे । 
       त्यस लिंगरूप अमृतलाई देवताहरू स्वयंले विधि–विधानपूर्वक धूमधामसँग पूजा समेत गरी अमृतको पिण्डबाट निर्मित शिवलिंगलाई पिण्डेश्वर नामाकरण समेत गरे । आज नेपालको पूर्वाञ्चल सुनसरी जिल्लाको धरान नगरपालिका अन्तर्गत पवित्र तीर्थ विजयपुर पर्वतका शिखरमा रुद्राक्षारण्यका बीचभागमा अमृत पिण्ड स्वरूप पिण्डेश्वर महादेव विराजमान भएर रहनुभएको सर्व विदितै छ ।
        यसै सन्दर्भमा जगद्गुरु महाराजश्रीको प्रश्न रह्यो ! अब भन्नुहोस् त भारतमा कुम्भ लगाउने प्रमाण के हो त ? भन्दा त्यही स्कन्द पुराणको "सुधाविन्दु विनिक्षिपेत्" अर्थात् अमृतको एक विन्दु झरेको हुँदा नासिक, उज्जैन, प्रयाग र हरिद्वारमा कुम्भ मेला भएको देखिन्छ भने नेपालको विजय पर्वतमा त केवल अमृतको विन्दु मात्र नभएर स्वयं अमृत कलश माथि ढपक्क जमेको तर या सारलाई नै पिण्डरूप शिवलिंग बनाएर स्थापना गरेको प्रमाण "सुधापिण्डीकृतो यस्मात् पिण्डेश्वर इति स्मृत:" भनेर शास्त्रहरूमा मुक्त कण्ठले वर्णन भएको छ । अव अवस्य पनि सामान्य व्याक्तिले पनि निर्णय गर्न सक्छन कि अमृतको विन्दुको महत्व विशेष हुन्छ या स्वयं अमृतकै तर या सारको थुप्रोको त ? विज्ञजनहरू आफै निर्णय गर्नुहोस् यसै शास्त्र वचनलाई प्रमाण मानी कौशिकीतट प्राचीन हरिद्वार चतराधाममा कुम्भ मेलाको शुरुवात पुज्यपाद् जगदगुरु महाराज श्रीबाट भएको हो ।