जगद्गुरू श्री निम्बार्काचार्य र द्वेताद्वेत दर्शन


           वैदिक सनातन धर्मका आद्यजगद्गुरु श्रीनिम्बार्काचार्यको माताको नाम जयन्ती देवी र पिताको नाम श्रीअरुण मुनि रहेको थियो। जगद्गुरुनिम्बार्काचार्य भगवान् नारायणको सुदर्शन चक्रको अवतार पनि हुनुहुन्छ । 
भविष्य पुराणका अनुसार
                                     

                                       सुदर्शनो द्वापरान्ते कृष्णाज्ञप्तो जनिष्यति।
                                      निम्बादित्य इति ख्यातो धर्मग्लानिं हरिष्यति।।


            जगद्गुरु निम्बार्काचार्यको जन्मकाल द्वापरयुगको अन्त्यलाई मानिन्छ । । गुरु निम्बार्काचार्यको जन्म दक्षिण भारतको गोदावरीको तटमा अवस्थित वैदूर्यपत्तन नामक नगर नजिकैको अरुणाश्रममा भएको थियो। एउटा किंवदन्ती के छ भने वहाँको व्रतबन्ध संस्कारका समयमा स्वयं देवर्षि नारदले निम्बार्काचार्यलाई श्रीगोपाल मन्त्रको दीक्षा प्रदान गरी श्रीकृष्णोपासना गर्ने उपदेशसमेत दिनु भएको थियो । त्यसैले निम्बार्काचार्यका गुरु देवर्षि नारदलाई मानिन्छ र नारदका गुरु श्रीसनकादि ब्रह्मपुत्रहरूलाई मानिन्छ। त्यसैले निम्बार्क सम्प्रदायलाई सनकादि सम्प्रदाय पनि भन्ने गरिन्छ र यिनको दर्शनलाई द्वैताद्वैत दर्शन भनिन्छ। श्रीनिम्बार्काचार्यको मतअनुसार यो मत अत्यन्त प्राचीन कालसित सम्बद्ध छ, यो कुनै नयाँ र नौलो मत होइन। उनले आफ्नो भाष्यमा नारद र सनत्कुमारको नामको उल्लेख गर्दै के सिद्ध गरेकाछन् भने यो मत सृष्टिको प्रारम्भदेखि नै प्रचलित छ ।

          गुरु निम्बार्काचार्यको प्रारम्भिक नाम नियमानन्द हो । यमुनाको तटवर्ती ध्रुवीय क्षेत्रमा गुरु निम्बार्काचार्यले आश्रमवासी भई निवास गर्दाको समयको कुरा हो, एक दिन एक जना दण्डी संन्यासी गुरुको आश्रममा आए। दण्डी स्वामी र जगद्गुरुका बीचमा लामो समयसम्म आध्यात्मिक विचार विमर्श भयो। दुबैले सूर्यास्त भएको पनि ख्यालै गरेनन्। दण्डी स्वामी फर्किनलाग्दा गुरु निम्बार्काचार्यले स्वामीलाई भोजन गर्न अनुरोध गरे, तर सूर्यास्त भइसकेको हुँदा दण्डी स्वामीले भोजन गर्न नमिल्ने बताए। दण्डी संन्यासीहरू प्रायः सूर्यास्तपछि कहिल्यै पनि भोजन गर्दैनन्। साँझको अतिथि भोजन नगरी फर्कने अवस्था भएपछि श्रीनिम्बार्काचार्यलाई ठूलो चिन्ता भयो । भगवानले गुरुको वर्तमान समस्या समाधान गर्नका निमित्त प्रकृतिको नियमलाई समेत परिवर्तन गरेर अद्भुत लीलाको सिर्जना गर्नुभयो । आश्रम नजिकै रहेको निमको रुखमा भगवान् सूर्यदेव प्रकाशित हुनुभयो र अस्ताई सकेका सूर्यनारायण पुनः उदीयमान हुनुभयो । भगवानको अपार करुणाको प्रत्यक्ष दर्शन गरी आचार्यको हृदय गदगद भयो। भगवानको करुणाप्रति कृतज्ञता प्रकट गर्दै उनले अतिथि दण्डी सन्यासीलाई भोजन गराउने अवसर प्राप्त गरे र अतिथिलाई भोजनादिबाट सम्मान गरेपछि मात्र सूर्यास्त भयो। भगवानको यस असीम करुणा प्राप्त भएकाले श्रीनिम्बार्काचार्यको एउटा सिद्धका रूपमा ख्याति प्राप्त भयो । परिणामतः यिनको नाम निम्बादित्य(निम्ब . निमको रुख र आदित्य . सूर्य) अथवा निम्बार्क(निम्ब .निमको रुख र अर्क . सूर्य)का रूपमा प्रसिद्ध भयो। श्रीमद्भागवत यस सम्प्रदायको मुख्य ग्रन्थ हो। जगद्गुरू निम्बार्कचार्यको मतमा ब्रह्मभन्दा जीव पृथक् पनि छ र ब्रह्म र जीवको ऐक्यभाव पनि छ। यही नै द्वैताद्वैत दर्शनको मूल भाव पनि हो । (edited)